काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका हालका उपाध्यक्ष दिनेश श्रेष्ठ झण्डै २ दशकदेखि उद्योग वाणिज्य महासंघमा कार्यसमिति अन्तरगत विभिन्न भूमिकामा रहँदै आएका छन् । महासंघको आगामी निर्वाचनमा पनि जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।
अघिल्लो निर्वाचनमा शेखर गोल्छा तथा किशोर प्रधान समुहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी भएका श्रेष्ठ यसपाली वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठको समुहबाट चुनावी मैदानमा होमिएका छन् ।
साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले गरेका कामहरु नै विजयको प्रमुख आधार भएको श्रेष्ठ बताउँछन् । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट सशक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगरतर्फको उपाध्यक्षमा पुनः दाबेदारी दिएको उनको भनाई छ ।
“यो क्षेत्रको नेतृत्व गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृत्व गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,” श्रेष्ठले भने । जिल्ला नगरका साथीहरुको आग्रहमा नै पुनः सोही पदमा उम्मेदवारी दिएको उनको भनाई छ । सबैजना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुनसक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर साथीहरुसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा नै उम्मेदवारी दिएको उनले बताए ।