Friday, October 11Nepal News Portal
Shadow

नेपाल आयल निगमले मोतिहारी-सर्लाही ग्यास पाइपलाइनको काम गर्यो सुरु


काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको सफलतापछि नेपाल आयल निगमले मोतिहारी–पथलैया सर्लाही एलपी ग्यास पाइपलाइनको काम सुरु गरेको छ । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले डिटेल इन्जिनियरिङ सर्भेको काम थालेको हो ।

आईओसीकै लगानीमा डिटेल रुट सर्भे गर्न कम्पनी तोकेर कर्मचारी खटाइएको निगमका उपनिर्देशकले जानकारी दिए । ‘सुरुमा मोतिहारी, अमलेखगन्जदेखि लोथर रुटको प्रारम्भिक अध्ययन भयो । तर, जग्गाका कारण त्यति सम्भावना देखिएन । सर्लाहीमा निगमकै १६ बिघा जग्गा छ, त्यहाँ सम्भावना भएकाले आईओसीलाई आग्रह गर्‍यौं,’ इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग उपनिर्देशकले भने, ‘निगमकै आग्रहमा आईओसीले डिटेल रुट सर्भे सुरु गरेको छ ।’

निगमले लोथरमा दोस्रो फेजअन्तर्गतको पेट्रोलियम पाइपलाइन (अमलेखगन्जदेखि लोथरसम्म) र इन्धन भण्डारण गर्ने योजना बनाएको छ । सोही कारण ग्यास पाइपलाइनका लागि जग्गा पर्याप्त पुग्दैन । फास्ट ट्र्याक पनि बन्ने चरणमा रहेकाले ग्यास पाइपलाइनका लागि सर्लाही उपयुक्त देखिएको उपनिर्देशकले जनाए ।

यसअघि आईओसीले मोतिहारीदेखि लोथरसम्मको प्रस्ताव गरेको थियो । त्यसका लागि रुट सर्भे पनि भइसकेको छ । तर सरकारको नीति तथा कार्यक्रममा सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन, चितवनसम्म पाइपलाइन र भण्डारण बनाउने नीति छ । १३ अगस्ट २०२० मा भएको नेपाल र भारतको दोस्रो संयुक्त अध्ययन कार्यदलले चितवनको लोथरमा एलपी ग्यास पाइपलाइनको रिपोर्ट दिएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बनेपछि वार्षिक करिब २ अर्ब बचत भइरहेको छ । ढुवानीमा हुने नोक्सानी र भन्सार नाकामा हुने सवारी जाम अन्त भएको छ । इन्धन ढुवानीमा पाइपलाइन उत्तम विकल्प भएकाले ग्यासको पनि तयारी भएको हो । अहिले रक्सौलदेखि मुजफ्फरपुर १ सय ४० किमिबाट बुलेटमार्फत ग्यास ढुवानी हुन्छ । आईओसीले मोतिहारीसम्म ग्यास पाइपलाइन विस्तार गरिसकेको छ । ग्यास पाइपलाइनले नेपाली रकम बिदेसिनबाट जोगिने निगमको भनाइ छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्