काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उद्योगी व्यवसायीहरु अहिले चुनावी महाभिडन्तमा छन् । यही चैत २९ गते हुन लागेको निवार्चनमा उद्योगी व्यवसायीहरु विभिन्न प्यानल बनाएर चुनावी मैदानमा होमिएका हुन् । सबै उम्मेदवारले आफ्नो टिमसहित उम्मेदवारी दर्ता पनि गरिसकेका छन् ।
अहिले सबै उम्मेदवारहरु प्रतिनिधीहरुसँग भोट माग्ने र आफ्नो पक्षमा लिने कार्यमा व्यस्त छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीन जना उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ । महासंघको वरिष्ठ उपाध्यक्ष जित्नु भनेको भावी अध्यक्ष बन्नु हो । त्यसैले सबै उम्मेदवार वरिष्ठ उपाध्यक्षमा जीत हात पार्न चाहन्छन् । वरिष्ठ उपाध्यक्षका लागि व्यवसायीहरु अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई मैदानमा छन् ।
यी तीन जनाको बारेमा तल पढ्नु होस्ः
अञ्जन श्रेष्ठ
वरिष्ठ उपाध्यक्षका आकांक्षी अन्जन श्रेष्ठ पोखराबाट उदाएका व्यवसायी हुन्। उनी औद्योगिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक छन्। उनका बुवा गणेशबहादुर श्रेष्ठ लक्ष्मी ग्रुपको अध्यक्ष छन्।
परिवारले सञ्चालन गरेको मिठाइ व्यापारबाट अघि बढेको उनको व्यावसायिक यात्रा अहिले धेरै क्षेत्रमा फैलिएको छ। अन्जनका अनुसार ४९ वर्षअघि ३ सय रूपैयाँ लगानीको मिठाइ व्यापारबाट उनको व्यावसायिक यात्रा सुरू भएको थियो।
मिठाइ व्यवसायबाट सुरू गरेको यात्रा डेरी उत्पादन, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार छ। सुजल फुड्स, सुजल प्लास्टिक, जय माँ लक्ष्मी ट्रेडिङ, लक्ष्मी कमर्सियल भेइकल्स, सिद्धि लक्ष्मी स्टिल लगायतका कम्पनी छन्।
लक्ष्मी ग्रुपले डेढ अर्ब रूपैयाँ लगानीमा नवलपरासीमा खाद्यान्न उद्योग, साढे दुई अर्ब रूपैयाँ भन्दा धेरै लगानीमा बिलेट (डन्डी बनाउने कच्चा पदार्थ) उद्योग सञ्चालन गर्ने भनेर उद्योग विभागमा दर्ता पनि गराएको छ। महासंघमा अहिले वस्तुगत उपाध्यक्ष रहेका उनी पछिल्लो २० वर्षदेखि महासंघको विभिन्न भूमिकामा छन्।
उमेशलाल श्रेष्ठ
ललितपुरका व्यवसायी उमेशलाल श्रेष्ठ परिवारमा पहिलो पुस्ताका व्यवसायी हुन्। उनको परिवार राजनीतिमा केन्द्रित रहे पनि उनी उद्योग व्यवसायमा रमाएका छन्। उनी कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा हुन्।
उमेशलालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी औषधि उद्योग क्वेस्ट फर्मास्युटिकल्स कम्पनी चलाउँछन्।
उनले लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न भूमिकामा बसेर काम गरेका छन्। उनी पशुपति मुरारकाको कार्यकालमा उद्योग समिति सभापति, भवानी राणाको कार्यकालमा वस्तुगत उपाध्यक्ष थिए भने शेखर गोल्छाको कार्यकालमा अन्जन श्रेष्ठसँग वस्तुगत उपाध्यक्षमा पराजित भएका थिए।
रामचन्द्र संघाई
रामचन्द्र संघाई त्रिवेणी ग्रुपका सदस्य हुन्। पारिवारिक व्यवसायमा उनी दोस्रो पुस्ताका व्यवसायी हुन्। यो ग्रुप रामचन्द्रका बुवा पुरुषोत्तमलाल संघाईको नेतृत्वमा छ। करिब पाँच दर्जन उद्योग व्यवसायमा यो ग्रुपको सक्रियता छ।
उत्पादनमूलक उद्योगतर्फ सिमेन्ट, ग्यास, जडीबुटी प्रशोधन उद्योग, चिया उद्योगमा लगानी छ। सगरमाथा, विश्वकर्मा, गोरखा सिमेन्ट उत्पादन गर्ने यो कम्पनीले हिमाल र नवज्योति ग्यास उद्योगमा लगानी गरेको छ। अमृत तेल, टोकला चिया पनि यसका उत्पादन हुन्। त्यस्तै लहर, एकता जस्ता लुगा धुने साबुन पनि त्रिवेणी ग्रुपले निकाल्ने गरेको छ। यसबाहेक डल्फिन मोड्युल्ड फर्निचर पनि यही समूहको हो।
प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक र महालक्ष्मी विकास बैंकमा यो ग्रुपको लगानी छ। ऊर्जा, शैक्षिक र कृषि क्षेत्रका साथै सिनेमा हल, मार्ट र अटोमोबाइल्समा पनि यो समूहले लगानी गरेको छ। यसबाहेक लोरियल, प्रान, सनफिस्ट, फुजिफिल्म, सान्सुई, पानासोनिक, हकिन्स, गार्नियर लगायत अन्तर्राष्ट्रिय ब्रान्डका सरसामानको बिक्रेता पनि हो।
रामचन्द्र सांघाई अघिल्लो निर्वाचनमा एसोसिएट उपाध्यक्षमा चन्द्र ढकालको प्यानलबाट विजयी भएका थिए। रोजगारदाता परिषदको अध्यक्ष भएर उनले आफ्नो भूमिका निर्वाह गरेका छन्। उनी महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको कार्यकालमा निर्यात प्रवर्द्धन समितिको उपसभापति भएर काम गरेका थिए।