काठमाडौं । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजदेखि दिनको ४ पटक रेल आवतजावत हुने भएको छ।
हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दिनको ४ पटक आवतजावत गर्दै सेवा विस्तार गरेको हो।
यसअघि २ पटकमात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवतजावत गर्नेगरी सञ्चालनमा आउने भएको हो।
रेल्वेका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ।
यो सेवा विस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ। यसअघि एक पटकमात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावश्यक भीडभाड हुने गरेको थियो।
साथै, महाप्रबन्धक झाले बिजलपुरासम्म रेल सेवा विस्तारका लागि २ चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरू छिट्टै पूरा गरेर आफूहरूलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताए।
उनले चाँडै नै बिजलपुरासम्म रेल सेवाको विस्तारको लागि प्रयासरत रहेको बताए।
उनले थप एक यात्रुबाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको बताए। उनले अब सहज र सुलभ रेलसेवा उपलब्ध हुने बताए। यसअघि १० बजे जनकपुरधामबाट हिँड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुनः ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारतीय बजारमा किनमेलका लागि समेत समय अभाव हुने गरेको थियो।