Friday, October 11Nepal News Portal
Shadow

गोरखाको पालुङटारलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने


गोरखाको पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने भएको छ।

पालुङटार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक नीति, कार्यक्रम तथा बजेट साथै भू–वर्गीकरण कार्यक्रम तर्जुमाको विषयमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्र र प्रदेश सरकारको सहकार्यमा पालुङटारको अवण्डादेखि बगरसम्मको क्षेत्रलाई विशेष औद्योगिक क्षेत्रका रूपमा विकासका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बताइएको हो।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जनताको चाहना र आवश्यकतालाई समावेश गरेर आगामी आवको बजेट तर्जुमा गर्नुपर्ने बताए। पालुङटारमा सञ्चालन गरिने ठूला विकासका आयोजनालाई केन्द्रीय सरकारको सहयोग हुने पनि उनले बताए।

गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गरे।

नेपाली कांग्रेसका नेता एवम् गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले पालुङटार नगरपालिकाभित्रका प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन विकास गर्नुपर्ने बताए। नगरपालिकाभित्र भू–वर्गीकरण वैज्ञानिक ढंगले गर्नुपर्नेमा पनि उनले बताए।

विपद व्यवस्थापन विज्ञ डाक्टर कृष्णचन्द्र देवकोटाले पालुङटारभित्रको भू–वर्गीकरण गर्दा विपदको बाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन र उपप्रमुख बन्दना पाण्डेले नगरपालिकाले निश्चित समयमा नीति तथा कार्यक्रम निर्माण गर्ने, बजेट बनाउने र कार्यान्वयन गर्ने बताए। पालुङटारको विकासमा केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक रहेको पनि उनीहरूले बताएका थिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले चालु आर्थिक वर्ष पालुङटार नगरपालिकाले ८० प्रतिशतभन्दा बढी बजेट खर्च गरिसकेको जानकारी दिए। रासस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्