कावासोती । पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो ६ जना परिवारको खर्च चलाउँदै आएकी छन् । दैनिक रु ४०० देखि रु ६०० सम्म आम्दानी हुने उनी बताउँछिन् ।
मनमायाजस्तै कावासोती–१२ की रीता माझी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउँछिन् ।
पूर्वी नवलपरासीको विषेश गरेर चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको जङ्गलमा निगुरो पाइन्छ । शिख्रौली, पिप्रहर, केउरानी, लौगाई, पिठौली, अमलटारीलगायतका नारायणी नदी नजिकका सामुदायिक वनमा पाइने निगुरो स्थानीय बजारदेखि काठमाडौंका भान्सासम्म पुग्ने गरेको छ ।
चैत सुरु भएदेखि पूर्वी नवलपरासीका विषेशगरेर मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमिसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोकोभरि निगुरो बोकेर निस्कन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेसनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् ।
वन आसपास बस्दै आएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोर–किशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि नारायणी नदी आसपासका जङ्गलको निगुरो सङ्कलन गर्दै जिल्लाको कावासोती, दलदले, रजहर, डन्डालगायतका बजारमा लगरे बिक्री गर्दै आएको कावासोती–१२ गैरीकी माया नेपाली बताउँछिन् ।
गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दुका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा दैनिक ३००/४०० जनाले निगुरो टिप्दै आएका छन् । धेरै मजदुरले दैनिक निगुरो बेचेर परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी जिल्ला विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको कावासोती–१२ मा रहेको राजरत्न मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद लम्साल बताउँछन् ।
यहाँबाट स्थानीयदेखि नारायणघाट, काठमाडौंसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् । स्थानीय बजारमै निगुरोको माग अत्यधिक हुने भएकाले स्थानीय बजार नै प्राथमिकता रहने गरेको मध्यविन्दुकी अनिता माझी बताउँछन् । माझीका अनुसार कहिले वनबाट टिपेर ल्याएको निगुरो स्थानीय बजार नपुग्दै गाउँघरमा नै सकिन्छन् ।
निगुरोको माग अत्यधिक हुने गरेको र बजार राम्रो भए पनि जोखिम उठाएर स्थानीयले निगुरो सङ्कलन गर्ने गरेका छन् । वनमा भेटिने एकसिङ्गे गैँडा, बाघको डर मात्रै होइन, निकुञ्जको सुरक्षामा खटिएका सुरक्षाकर्मीको त्रास पनि उस्तै हुने कावासोतीका कृष्णबहादुर बोटे बताउँछन् ।
विषेशगरेर नारायणी नदी किनारमा रहेका बोटे माझी मुसहरले चैतदेखि साउनसम्म नारायणीमा माछा मार्न अनुमति नपाउँदा निगुरो बेचेर घर चलाउँदै आए पनि वन्यजन्तु र निकुञ्ज प्रशासनको डरको कारणले जोखिम मोलेरै भए पनि निगुरो टिप्ने तथा सङ्कलन गर्दै आएका छ्न् । रासस