काठमाडौं । विजयश्री स्टिल प्रालिको व्यापार १२ %ले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ११.७९ %ले घटेको हो ।
कम्पनीले सन् २०२१ मा ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा भने कम्पनीले ४ अर्ब ७१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा ३ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०२२ मा डण्डीको माग कम हुँदा व्यापारमा असर पुगेको कम्पनीले जनाएको छ । जसले गर्दा नाफामा पनि प्रभाव परेको छ । कम्पनीले सन् २०२२ मा ४७ हजार ५२१ मेट्रिक टन बिक्री गरेको छ । उक्त परिमाण सन् २०२१ को तुलनामा ३२ %ले कम हो ।
त्यस्तै, कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा ८९ करोड ४० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा सोही अवधिमा २ अर्ब ५० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले विशेषगरी भारतबाट स्पञ्ज आइरन र पिग आइरन आयात गरी डण्डी उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले गरेको व्यापारमध्ये ९४ % हिस्सा कच्चा पदार्थको रहेको छ ।
सन् २०१७ मा कपिलवस्तुमा उद्योग स्थापना गरी टीएमटी बार उत्पादन गर्दै आएको कम्पनीले दैनिक ७ सय मेट्रिक टन टीएमटी बार र सीसीएम उद्योगबाट दैनिक ४ सय मेट्रिक टन बिलेट उत्पादन गर्दै आएको छ ।
सिमेन्ट क्षेत्रमा देशभर चार वटा डिलर रहेको कम्पनी विजय ग्रुपद्वारा सञ्चालित छ । विकास केडिया सञ्चालिक समिति रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्ब ६ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १६ करोड रुपैयाा अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि २ अर्ब ९० करोड रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।