काठमाडौं । सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योग अनियिमित विद्युत् कटौतीको समस्यामा परेका छन् । गएको पुसदेखि विद्युत्को अनियमित आपूर्ति, बारम्बारको ट्रिपिङ, लो भोल्टेज, पूर्वसूचनाबिनै विद्युत् कटौतीजस्ता कारणले उद्योग क्षेत्रको उत्पादन घटेको बताइएको हो।
बजारमा व्याप्त मन्दी, बैंकको चर्को ब्याजदरलगायत कारणले शिथिल बनेको उद्योग क्षेत्र अनियमित विद्युत् कटौतीको सिकार बनेको उद्योग संगठन मोरङ जनाएको छ ।
विद्युत् आपूर्तिको समस्याका कारण उत्पादन प्रक्रिया ठप्प हुने, कच्चापदार्थ खेर जाने, मेसिन बिग्रने साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाइ भइरहेको संगठनका अध्यक्ष सुयष प्याकुरेल बताए ।
“अनावश्यक रूपमा सञ्चालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुँदै गएको छ भने उत्पादित वस्तुको गुणस्तरमा र प्रतिस्पर्धात्मक क्षमता नै ह्रास आइरहेको छ,” उनले भने, “औद्योगिक क्षेत्रको निर्वाध सञ्चालनका लागि अत्यन्त महत्त्वपूर्ण कम्पोनेन्टका रूपमा रहेको विद्युत् आपूर्तिलाई कुनै पनि सूचना नदिई एवं विभिन्न कारण देखाई कटौती गर्ने गरिन्छ । यस विषयमा विद्युत् प्राधिकरणलाई बारम्बार ध्यानाकर्षण गर्दा पनि समस्या समाधानमा चासो दिइएको छैन ।”
प्राधिकरणलाई ट्रिपिङ र लोभोल्टेजको समस्याबारे अवगत गराए पनि सुनेको नसुन्यै गरी टार्ने गरेको संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा बताउँछन् । “समस्या भन्दाभन्दा हामी नै थाक्ने अवस्था भइसक्यो,” उनले भने ।
विद्युत् कटौतीले सुनसरी–मोरङ औद्योगिक करिडोरका ५०० भन्दा धेरै उद्योग प्रभावित भएका छन् ।