काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले वित्तीय क्षेत्र विरुद्ध गैरकानुनी गतिविधि भए मुद्दा चलाउने चेतावनी दिएको छ।
परिसंघको वैशाख १४ गते बसेको कार्यसमितिको चौथो बैठकले बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा गैरकानुनी गतिविधिहरु भए मुद्दा चलाउने वा प्रचलित कानुनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा उजुरी गर्ने निर्णय गरेको हो।
परिसंघले भनेको छ अब उप्रान्त कुनै पनि व्यक्ति, समूह वा संघ–संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानी नोक्सानी पुर्याउने, बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानुनबाट बर्जित क्रियाकलापहरू गर्ने जोसुकै विरुद्ध मुद्दा चलाउने तथा प्रचलित कानुनको अधिनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गरिनेछ।
यस्तै, बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरूको हकहित संरक्षणको लागि प्रचलित कानुनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरू पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको समेत परिसंघले जानकारी दिएको छ।