काठमाडौं । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको हो ।
मंगलबार (हिजो) चितवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चितवन उद्योग संघले औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको बताएको हो । औद्योगिक प्रदर्शनी बैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुन गईरहेको छ ।
प्रदर्शनी चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व, मिडिया स्पेस सोलुसन्स प्रा।लि तथा को व्यवस्थापकीय साझेदारी र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन र चितवनका स्थानीय पालिकाहरुको प्रबद्र्धन सहयोगमा हुन लागेको हो ।
औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनी हुने औद्योगिक प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी स्टलहरु रहने छन्। केही स्टलहरु बैशाख २१ गतेसम्म पनि बुकिङ गर्न सकिनेछ ।
प्रदर्शनीको दोश्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर र नेपाल उद्योग परिसंघको तर्फबाट “मेक इन नेपाल स्वदेशी अभियान” विषयमा गोष्ठी तथा सेमिनार हुनेछ । प्रदर्शनीले वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदान मार्फत उद्यमशिलताको विकासमा सहयोगी हुने अवसरका रुपमा लिइएको यस प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना–साना औजार, मेशिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरु समावेश हुने भएकोले नेपालको औद्योगिक विकासका लागि यस प्रदर्शनीबाट थप बल पुग्ने आयोजकको विश्वास रहेको छ ।