काठमाडैं । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकको आयोजनामा नेपाल–चीन फ्रन्डसिप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने भएको छ।
आगामी असार ८ र ९ गते (२३–२४ जुन २०२३) पोखरामा पहिलो पटक उक्त फेस्टिभल आयोजना हुन लागेको बोर्डले जानकारी दिएको छ।
कार्यक्रममा पोखरा पर्यटन परिषद, नेपाल चीन ओभरसीज एसोसिएसन सह आयोजकका रुपमा रहनेछन्। कार्यक्रमका लागि बिहीबार बोर्ड र चिनीयाँ दूतावासका अधिकारी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको बोर्डले बताएको छ।
महानगरपालिकाका मेयर धनराज आचार्य र बोर्डका सदस्य मदन आचार्यको उपस्थितीमा भएको हस्ताक्षर कार्यक्रममा बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र नेपाल स्थित चिनीयाँ दूतावासको तर्फबाट डेपुटी चिफ अफ मिसन डिसिएम वाङ जिनले हस्ताक्षर गरेका छन्।
रेसका लागि चीनबाटै ८ वटा विशेष खालका वोट सहित अन्य सहभागीहरू नेपाल आउने छन्। फेस्टिवलमा नेपालका सातैवटै प्रदेशबाट सहभागीता गराइने छ।
हस्ताक्षर कार्यक्रममा बोल्दै पोखरामा मेयर धनराज आचार्यले यस प्रकारको कार्यक्रमले मुलुककै समग्र पर्यटनमा नयाँ आयाम थप्ने बताए।
उनले यो कार्यक्रमले पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने बताए।
बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले वोट रेस फेस्टिवलका माध्यमबाट पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए।
त्रिपक्षीय सहकार्य तथा अन्य सरोकारवालाहरूको सहभागीतामा हुने यो कार्यक्रमले धेरै पर्यटकलाई आकर्षित गर्ने समेत उनको भनाइ छ।
चिनीयाँ दूतावासका डिसिएम वाङजिनले पोखरा चीनियाँ पर्यटकको लागि आर्कषक गन्तव्य भएको उल्लेख गर्दै फेस्टिभलका माध्यमबाट दुवै देशबीचको सांस्कतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने बताए।