काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले नेपालमा राजस्व संकलनमा गम्भीर चुनौती भएको बताएका छन् ।
मंगलबार (आज)को प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै सांसद चौधरीले राजस्व संकलनमा आधारभूत सिद्धान्तलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
अन्य मुलुकको तुलनामा नेपालमा जीडीपीको अनुपातमा बढी राजस्व संकलन गर्ने देशको रूपमा परिचित भएको पनि बताए ।
“नेपालमा जीडीपीको अनुपातमा राजस्व संकलन करिब २० % पुगेको छ । जबकी भारतमा यस्तो अनुपात १२ प्रतिशत, बंगलादेशमा सात प्रतिशत मात्र रहेको छ । तर, दुःखका साथ भन्नुपर्छ, जीडीपीको तुलनामा सबैभन्दा उच्च अनुपातमा राजस्व उठाउने नेपालको संकलन तथा चुहावट पनि त्यत्तिकै गम्भीर छ,” उनले भने, “कर प्रणालीलाई प्रविधिक रूपमा आधुनिक टेक्नोलोजी ड्रिबन बनाइ राजस्व प्रणालीलाई आधुनिक एवम स्वःविवेकी हैन, बरू स्पष्ट घोषित आधारभूत सिद्धान्तहरू, अन्तर्राष्ट्रिय मान्यता अनुसारका व्यवस्थाहरू सक्षम बनाउन सकिन्छ भने राजस्व संकलन बढाउने मात्र हैन चुहावट पनि रोक्न सकिन्छ ।”
विद्युतका उत्पादन र निर्यातका उत्कृष्ट मोडलहरू देशसामु आएको उनले बताए । विद्युत् निर्यातबाट देशको व्यापार घाटा सन्तुलनमा ल्याउन सकिने उनको भनाइ छ ।