काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार (आज) लगानी वोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले संयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
उनले नेपालको विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारका साथै निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको धारणा पनि राखे ।
“लगानीको वातावरण बनाउन नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्था सुधार गर्न पहल गरिसकेको छ,” उनले भने ।