काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद नाफा घटेको छ ।
गत आर्थिक वर्ष (आव) २०७८/०७९ को नौ महिनाको अर्थात् चैत्र मसान्तसम्म कम्पनीको खुद नाफा ५ अर्ब ४३ करोड ५३ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको सोही अवधि चैत्र मसान्तसम्म कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफामा ०.४३ प्रतिशतले कमी आएको कम्पनीले जानकारी दिएको छ ।
गत आर्थिक वर्षको यो अवधि अर्थात् चैत मसान्तसम्म कम्पनीको कुल आय ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने कुल आय २.०६ प्रतिशतले बढेर ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, गत आर्थिक वर्षको नौ महिना चैत्र मसान्त सम्ममा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको सोही अवधि चैत्र मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आयमा ३.०९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षमा कम्पनीको सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ रहेको छ ।