काठमाडौं । सहकारी ऐन र नियमावली कार्यान्वयन नभएको भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही जेठ ९ गतेदेखि माग पूरा नभएसम्म आन्दोलन गर्ने जानकारी दिएको हो ।
उक्त दिनदेखि सबै जिल्लास्तरीय संघहरूमा ‘हामी आन्दोलनमा छौँ’ भन्ने कालो ब्यानर राख्ने, सबै सहकारी संघ–संस्थाका कर्मचारीले कालोपट्टी लगाएर दैनिक कार्यसञ्चालन गर्नेलगायत कार्यक्रम गरिने जानकारी दिएको छ ।
सो महासंघका अनुसार नेपालमा ३० हजारभन्दा बढी सहकारी संघ–संस्थामार्फत सात खर्ब रुपैयाँभन्दा बढी पुँजी परिचालन भएको छ । सहकारी क्षेत्रले वित्तीय क्षेत्रमा १७ प्रतिशत योगदान पुर्याएको सहकारी महासंघको दाबी छ ।