काठमाडौं । नेपाल टेलिकमले गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न अनुरोध गरेको छ । टेलिकमले नयाँ कर्मचारी आवश्यकताबारे कुनै पनि आवेदन नखुलेको स्पष्ट पारेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको समेत टेलिकमले जनाएको छ । यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाइ विश्वास गर्न टेलिकमले आग्रह गरेको छ ।