काठमाडौं । ब्रोकर लाइसेन्स पाएका सातवटा कम्पनीले सदस्यता माग गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आवेदन दिएका छन् । यी कम्पनीहरूले आफ्नो सेवा सुरु गर्न सदस्यता माग गर्दै निवेदन दिएका हुन् ।
नेप्सेले सदस्यता प्रदान गरेपछि नेप्सेकै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मार्फत सेवा सुरु गर्ने छन् । नेप्सेले पूर्वाधार अध्ययन गरेर ती कम्पनीलाई सदस्यता दिने छ ।
बोर्डले जेठ ८ गते भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।
बोर्डले पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेको थियो भने सात कम्पनीलाई मात्र लाइसेन्स वितरण गरेको छ ।
बोर्डले पहिलो चरणमा चुक्तापुँजीका आधारमा सीमित कार्य गर्ने ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो । बोर्डले पुँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो ।
पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, सेयर खरिदबिक्री गर्नेसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्तापुँजी ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको हो ।