काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (जेठ २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १८ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। सोमध्ये ८७ हजार ६७० कित्ता शेयर बाँडफाँट गरिएको थियो भने १ लाख ९२ हजार ३३० कित्ता शेयर बाँकी रहेको थियो ।
सर्वसाधारणलाई निष्काशन गर्ने शेयरमा सो शेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर निष्काशनमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। लगानीकर्ताले बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले निर्माण गरी सञ्चालन गरेको ३ मेगावाटको माथिल्लो रावा खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ५५ लाख रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८।८९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २४.५५ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २९ वर्ष ११ महिना बाँकी रहेको छ । कम्पनीले २०७७ असोज १४ गतेदेखि व्यापारिक विद्युत उत्पादन गरिरहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।