Wednesday, October 16Nepal News Portal
Shadow

आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको थोरै पनि सुनुवाइ नभएको ढकालको गुनासो


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा निजी क्षेत्रको थोरै पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रबारे राम्रो कुरा गरेको छ । तर, बजेटका अंकमा भने निजी क्षेत्रलाइ पेल्ने गरेको छ । यसपालिको बजेटमा पनि यस्तै भएको छ ।’

यस पटकको बजेट भाषण सुन्दा उद्योगी व्यापारीका सुझाव समावेश भएको पाइएको तर पछि अंक हेर्दा भने आफूहरू निराश बन्नु परेको उनले बताए । आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने कुरालाई सरकारले बजेटमा सुनेजस्तो मात्र गरेको उनले बताएका छन् ।

यसअघि आर्थिक ऐन तथा राष्ट्र बैंकले दिएको सुविधाहरू समेत बजेटमा काटिएर आएकोमा उनले दुखेसो पोखे । ‘मर्जर प्राप्तिलाई प्रशय दिन नियामक निकायले गरेका छुटहरूलाई समेत बजेटले काटिदिएको छ । यसबाट नीतिगत स्थिरता देखिँदैन । यसमा हाम्रो आपत्ति छ’, ढकालले भने ।

यसरी नीतिगत स्थिरता नहुँदा प्रत्यक्ष वैदेशिक लगानी समेत निरुत्साहित बन्ने ढकालको तर्क छ । यो प्राविधिक त्रुटि हो या नियतवश गरिएको हो भन्ने उनले प्रश्न गरेका छन् । यसका सरकारले सच्याउनु पर्ने उनको भनाई छ । कुनै पनि नीतिहरू परिवर्तन गर्दा त्यसले के कस्ता असर पार्छ भन्ने कुरा विचार गर्न आवश्यक रहेको उनले बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्