काठमाडौँ । नेपाल कफी व्यवसायी महासङ्घले राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० को आयोजना गर्ने भएको छ । महासङ्घले असार २ देखि असार ५ गतेसम्म राजधानीमा कफी सम्मेलन तथा प्रदर्शनी, २०८० को आयोजना गर्ने भएको हो ।
सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी महासङ्घले सो कुराको जानकारी गराएको हो । महासङ्घसँगै नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायतको सहकार्यमा आयोजना गर्न लागिएको हो ।
कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन एवं प्रदर्शनीको आयोजना गर्न लागिएको महासङ्घले जनाएको छ । उद्यमी व्यवसायीका आफ्ना उत्पादनहरूको प्रदर्शनी तथा यस क्षेत्रको समग्र विकासमा सकारात्मक योगदानका लागि सम्मेलन तथा प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्मेलनमा कफीको आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्न विद्यमान तथा आवश्यक नीतिमा छलफल एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबीच अन्तरक्रिया गरिने आयोजकले जनाएको छ । सम्मेलनमा कफी उत्पादक, निर्यातकर्ता, उपकरण उत्पादक एवं कफी उत्पादक तथा प्रवर्द्धनसम्बन्धी व्यवसायीहरूले आफ्ना उत्पादनहरूको प्रदर्शन गर्ने अवसर प्रदान गरिने महासङ्घका अध्यक्ष ओमनाथ अधिकारीले बताए । उनका अनुसार सम्मेलनमा कफीसँग सम्बन्धित विभिन्न विधामा प्रतिस्पर्धा र पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनबाट कफी उत्पादकहरू, सम्बन्धित उद्यमीहरूलगायत यस क्षेत्रमा रुचि राख्नेहरूका लागि सकारात्मक सहयोग पुग्ने महासङ्घका महासचिव सन्तोष पोखरेलले बताए ।रासस