काठमाडौं । सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाको शुभारम्भ गरेका हुन् ।
बैंकले नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग विनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुने बैंकले जनाएको छ ।
यसै गरी ‘किओस्क’ मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग विनै आफैं क्लियरिङ चेक जम्मा गर्न सक्नेछन् । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनोट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ ।
ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै किओस्क मसिनबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र क्यास डिपोजिट किओस्क सेवा गैरीधारा तथा न्यूरोड शाखामा सञ्चालनमा ल्याएको छ । अन्य शाखाहरूमा समेत यो सेवा विस्तार गर्ने योजना रहेको बैंकले जानकारि दिएको छ ।