काठमाडौं । बुधबार नेप्से ३५.३७ अंकले घटेको छ । मंगलबार ५६.९४ अंक बढेर २,१८६ विन्दुमा बन्द भएको नेप्से आज घटेको हो ।
आज कारोबार रकम भने वृद्धि भएको छ । लगातार १२६ अंकभन्दा बढी बढेको बजारमा नाफा बुक गर्नतर्फ लगानीकर्ता लागेका छन् । नाफा बुक गर्न लाग्दा पनि करिब ६ अर्बको सेयर कारोबार भएको छ । आज ५ अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने मंगलबार ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २८० धितोपत्रको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये जीवन बिमा समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । जीवन बिमा समूहको परिसूचक २.४६ प्रतिशतले वृद्धि भएको छ । आज सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह ३.२१ प्रतिशत रहेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्स र बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । सिटी होटेलको सेयरमूल्य भने ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको ८३ करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । शिवम् सिमेन्टको २८ करोड २२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।