काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको प्रमुख जिम्मेवारी भएको बताएका छन् । २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८० शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको र उक्त हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
पछिल्लो समय जलवायु परिवर्तनका कारण खुख्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढीपहिरो, रोग तथा किराको प्रकोप आदिको क्रम बढ्दै जाँदा धान उत्पादनमा नकरात्मक असर बढ्दै गएको उनले बताए।
अहिलेकै अवस्थामा धानको उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन हुने र यसले गर्दा खाद्य सुरक्षामा नै प्रतिकूल असर पर्न सक्ने पनि उनको भनाइ छ ।
“यस्तो अवस्था आउन नदिन जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक छ । यस परिप्रेक्ष्यमा जलवायु अनुकूलित धानका जातहरू र उत्पादन प्रविधिहरूको विकास र अवलम्वनमार्फत दीगो रूपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशबासीहरूमा आह्वान गर्छु,” उनी अगाडि थप्छन् ।