काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ । महासंघले सोमबार परिसंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका नेतृत्वले सहकार्यमा जोड दिएका हुन् ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताएका हुन् । ढकालले भने, “हामीले विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएका थियौँ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ” ।
परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरूबीच पनि सहकार्य आवश्यक रहेको बताए । महासंघको स्वागतका लागि धन्यवाद दिँदै उनले भने, “हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।”
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र मन्दीमा रहेको हुँदा संयुक्त रूपमा सुधारका लागि पहल गर्नुपर्ने बताए ।