Saturday, June 14Nepal News Portal
Shadow

राष्ट्रियसभाको बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने


काठमाडौं, पुस १७ (ससं) । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भए पनि आजदेखि संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्।

अपरान्ह ४ बजे सुरू हुने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वानसम्बन्धी पठाएको पत्र र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल पुनर्गठनसम्बन्धी पत्रका बारेमा जानकारी दिइने छ।

उक्त जानकारी गराएपछि नेपाल कम्युनिस्ट पार्टी , नेपाली काँग्रेस, जसपालगायत संसदीय दलका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार आजको बैठकमा ६ वटा अध्यादेश पेस हुनेछन्।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलगायत बैठकमा पेस हुनेछन्।

प्रतिनिधिसभा सदस्य सानु सिवा र सुर्यबहादुर केसीसहित पूर्वसांसदहरू ओमप्रकाश चौहान, दीपकबहादुर गुरुङ, ईन्द्रहाङ लिम्बूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची बनाइएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्