काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आज (असार २० गते) देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गर्ने मिति सार्वजनिक गरेको थियो । तर, कम्पनीले आईपीओमा आवेदन दिने मिति परिवर्तन गरेको छ । अब संशोधन मिति अनुसार कम्पनीको आईपीओमा असार २१ गते (भोली)देखि आवेदन दिन सकिनेछ । प्राविधिक कारणले निष्कासन अवधि परिवर्तन गरिएको इन्स्योरेन्सले जनाएको छ ।
इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्कासन गर्न लागेको हो । इन्स्योरेन्सले आफ्नो जारीपूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यसैगरी, निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताहरुले असार २५ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि साउन ४ गतेसम्म लम्बिनेछ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।
इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् । यसकासाथै मेरो शेयर मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने छ ।