काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि प्रिमियममा आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी एक अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात् दुई लाख ७२ हजार ७३० कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
सो सेयरमा ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा इन्द्र सरोबर गाउँपालिका वडा नं. ३ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि साउन २६ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक तथा प्रभु क्यापिटलका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।