Tuesday, February 20Nepal News Portal
Shadow

दैनिक १ लाख लिटर दूध प्रशोधन गर्दै चितवन मिल्क


काठमाडौं । नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक १ लाख लिटर दूध प्रशोधन गरिरहेको छ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक १ लाख लिटर दूध प्रशोधन पुर्‍याएको हो। कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए। असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन।

चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ। बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म उद्योग सञ्चालन हुने गरेको उनले जानकारी दिए।

पाउडर र बटर बनाउनका लागि यहाँ पूर्व मेचीबाट पश्चिम महाकालीका विभिन्न जिल्लाका डेरीबाट दूध ल्याउने गरिएको छ। अहिले दैनिक ३ सय बोरा पाउडर र ३ सय ५० क्रेट बटर उत्पादन भइरहेको प्रबन्धक पराजुलीले बताए।

‘जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्,’ उनले भने, ‘१० दिनसम्म यही कोल्डस्टोरमा राखिदिने गरेका छौं।’

१ लाख लिटर दूधबाट १० टन पाउडर बन्छ। पाउडर मिल्क ४ सयदेखि ५ सय रुपैयाँको बीचमा मूल्य पर्छ। एक किलो पाउडरले ११ लिटर दूध बन्छ भने ११ लिटर झोल दूधबाट एक किलो पाउडर बन्छ।

असार महिनामा यसरी प्लान्ट चलेको पहिलोपटक भएको जनाउँदै उनले बत्ती र पानीको समस्याले अझ पूरा समय सञ्चालन गर्न नपाएको बताए। ‘जेठ महिनादेखि नै दूध धेरै आएको थियो, असारमा झन् बढ्यो,’ उनले भने।

सुरुमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो। हाल नेपालमै खपत भइरहेको महाप्रबन्धक पराजुलीले बताए। अहिले ३२ जनशक्तिले उद्योगमा काम गरिरहेको उनले जानकारी दिए।

चितवन मिल्क बन्द हुँदा दूध उत्पादन धेरै हुने ‘सिजन’मा उद्योगीले दूध लिन बन्द गर्दा किसानले सडकमै दूध फ्याँकेर विरोधसमेत गरेका थिए। उत्पादित दूधले बजार नपाएपछि पुनः मिल्क होलिडे हुन थालेको भन्दै केन्द्रीय दुग्ध सहकारी सङ्घले जिल्ला–जिल्लामा आन्दोलनसमेत गरेको थियो।

जिल्ला दूध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेले बजारमा दूध नबिकेको अवस्थामा उद्योगमा प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा दूध खेर जाने अवस्था नआएको बताए। उनले किसानलाई चितवन मिल्क र अन्य प्रशोधन उद्योगका कारण मिल्क होलिडे गर्नुपर्ने अवस्था नआएको उनले जानकारी दिए।

Total Page Visits: 92 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्