Thursday, January 23Nepal News Portal
Shadow

नवलपुरमा नयाँ उद्योग खुल्ने दर घट्यो


काठमाडौं । नवलपुरमा नयाँ उद्योग खुल्ने दर घटेका छन् । पर्यटन तथा उद्योग कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग, व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको छ।

पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक वर्ष २०७८/७९ एक हजार ५० नयाँ उद्योग दर्ता भएका थिए। तर, गत आर्थिक वर्षमा भने जम्मा ४ सय ३८ नयाँ उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुखले बताए।

गतवर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक उद्योग धेरै रहेका छन्। गत वर्ष आर्थिक वर्षमा नयाँ उद्योग दर्तामा कमी आउनु प्रमुख कारण देशको पछिल्लो आर्थिक अवस्थाको असर भएको कार्यालय प्रमुख खनालले बताए। नयाँ उद्योग दर्ता र सञ्चालनको लागि आर्थिक प्रभावको अवस्था प्रतिकुल हुँदै गएकाले यस्तो अवस्था आएको हुनसक्ने उनले बताए।

‘पछिल्लो समय आर्थिक अवस्था त्यति अनुकुल छैन्, यसले गर्दा पनि नयाँ उद्योग दर्तामा कमी आएको हुनसक्छ। औद्योगिक उत्पादनले बजार नपाउने समस्याका कारणसमेत नयाँ उद्योग स्थापनामा त्यति उत्साही भएका देखिँदैनन्,’ खनालले भने। नयाँ उद्योग दर्तासहित पुराना खारेजी गर्ने क्रमसमेत बढेको उनको भनाइ छ।

गत आर्थिक वर्षमा जम्मा चार सय ८२ नयाँ वाणिज्य व्यवसाय दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/७९ मा १ हजार १ सय ५८ नयाँ वाणिज्य व्यवसाय दर्ता भएको उद्योग तथा पर्यटन कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्यांकअनुसार नवलपुरमा नयाँ थपिएका उद्योगसहित जम्मा उद्योगको संख्या ६ हजार सात सय ४७ रहेको छ। वाणिज्यतर्फ भने ८ हजार ७ सय ९८ उद्योग रहेका छन्।

आर्थिक मन्दीकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालले बताए। उद्योग स्थापनासहित बजारीकरणको समस्या, लगानीका लागि उचित वातावरण नहुँदा यस क्षेत्रमा निराशा छाउन थालेको उनको भनाइ छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्