काठमाडौं, पुस १८ (ससं) । अमेरिकी सदनले रक्षा विधेयकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको भिटो खारेज गरेको छ ।
राष्ट्रपति ट्रम्पले सदनका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न भिटो प्रयोग गरेका थिए । तर सदनले सो भिटो रद्द गर्नका लागि आफ्नो शक्ति प्रयोग गरेको हो ।
शुक्रबार सदनले ट्रम्पको भिटो अवहेलना गर्ने सक्बन्धी पक्षमा मत दिएको हो । ट्रम्पको चार वर्षे शासनकालमा पहिलोपटक उनको भिटो संसदले रद्द गरेको हो ।
डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले यसअघि नै भिटो रद्द गर्ने पक्षमा मत दिएको थियो ।
पब्लिकनहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटको नयाँ वर्षको दिन बसेको दुर्लभ सत्रले पनि भिटो खारेज गर्ने पक्षमा निर्णय गरेको हो ।
दुवै पार्टी (रिपब्लिकन र डेमोक्र्याटिक) का तर्फबाट ल्याइएको ७४० बिलियन डलर बराबरको सुरक्षा खर्च सम्बन्धी विधेयक सदनबाट डिसेम्बरमा पारित भएको थियो ।
तर ट्रम्पले भिटो शक्ति प्रयोग गरेर सो विधेयकलाई कानून बन्नबाट रोकेका थिए । सुरक्षा रणनीति सम्बन्धी विधेयक रोक्न ट्रम्पले भिटो प्रयोग गरेसँगै अमेरिकी सरकारका संघीय निकायहरु महामारीको बेलामा ‘सटडाउन’ मा जाने सम्भावना देखिएको थियो ।
विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पको विरोध थियो ।
रंगभेद विरोधी आन्दोलनको प्रभाव स्वरुप रंगभेदलाई साथ दिने सेनाका पूर्व नेताहरुको नाम सैनिक बेसबाट हटाउने व्यवस्था विधेयकमा छ । सो विधेयक सदनबाट अत्याधिक बहुमतले पारित भएको थियो ।
दुवै पार्टीको सहमतिमा ल्याइएको र अत्याधिक बहुमतले पारित भएकाले राष्ट्रपतिले भिटो प्रयोग गरेर रोक्न खोजे पनि त्यसलाई सदनले अस्वीकार गरेको हो ।
सदनबाट पारित भएका विधेयकलाई कानूनी रुपमा प्रदान गर्नका लागि राष्ट्रपतिले हस्ताक्षर गर्नु पर्ने हुन्छ । तर दुर्लभ अवस्थाहरुमा राष्ट्रपतिले भिटो प्रयोग गर्न वा अस्वीकार गर्न सक्छन् ।
राष्ट्रपतिले भिटो प्रयोग गरि रोकेको विधेयकलाई सदनले कानूनमा प्रमाणिकरण गर्न सक्छ । राष्ट्रपतिले प्रयोग गरेको भिटो खारेज गर्नका लागि संसदका दुवै सदनबाट दुई तिहाई बहुमत चाहिन्छ ।
त्यसपछि राष्ट्रपतिले भिटो मार्फत रोकेको विधेयकले कानूनी रुप लिन सक्छ । अहिले रक्षा विधेयकमा त्यस्तै भएको छ ।
सदनले राष्ट्रपति ट्रम्पको भिटो खारेज नगरेको भए पछिल्लो ६० वर्षमा पहिलो पटक नेशनल डिफेन्स अथोराइजेशन एक्ट ९एनडिएए० कानून बन्ने थिएन ।
झण्डै एक वर्ष लगाएर तयार पारिएको ४५ सय पृष्ठ लामो विधेयकलाई ट्रम्पले ‘चीन र रुसका लागि उपहार’ भनेका थिए ।
विधेयकले महत्वपूर्ण राष्ट्रिय सुरक्षाका विषय समेट्न नसकेको आरोप ट्रम्पले लगाएका छन् ।
सैनिक इतिहास र भेट्रानहरुलाई सम्मान गर्न भुलेको वा त्यसका लागि मार्ग प्रसस्त गरेको र सुरक्षा तथा परराष्ट्र नीतिमा आफूले लिँदै आएको अमेरिका पहिले भन्ने नीतिलाई आत्मसाथ नगरेको ट्रम्पको दाबी थियो ।
विदेशमा रहेका सैनिक फिर्ता बोलाउने संख्या सीमित गर्नु खराब र असंवैधानिक नीति रहेको पनि ट्रम्पले आरोप लगाएका छन् ।