काठमाडौं । बाँकेमा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने ठूला लगानीका उद्योग थपिँदै गएका छन्। बैजनाथ गाउँपालिकामा सरकारले निर्माण गर्ने भनिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र अलपत्र परिरहँदा उद्योगीले कोहलपुर नगरपािलका र जानकी गाउँपालिका क्षेत्रमा धमाधम नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्दै आएका छन्।
कैलालीको लम्कीमा पशुपक्षी र मानिसलाई आवश्यक खाद्यवस्तु उत्पादन गर्दै आएको डल्फिन ग्रुपले भर्खरै कोहलपुर–७ लखनावरमा २ अर्ब ५० करोड रुपैयाँ बढीको लगानीमा उद्योग सञ्चालनमा ल्याएको छ। यहाँ केएल दुगड ग्रुपको खाद्य उद्योग, जयमंगल सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एन्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गंगा रोजिन एन्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्स जस्ता उद्योग सञ्चालनमा छन्। सुजुकी, महिन्द्रा, हुन्डाईजस्ता महंगा र नाम चलेका गाडीका शोरुम पनि यहीँ छन्।
पश्चिम नेपालभरि आफ्नो उत्पादन विस्तार गर्न कैलालीबाट बाँकेमा उद्योगलाई विस्तार गरेको डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार डल्फिन ग्रुपले कोहलपुरमा पशुपक्षीका लागि अत्याधुनिक दाना उद्योग, मानिसका लागि चामल मिल, आटा उद्योग, सोयाबोडी र चिउरा तथा भुजा उद्योग सञ्चालन गरेको छ। यीमध्ये दाना उद्योग नेपालकै सबैभन्दा आधुनिक उद्योग हो। चाइनिज प्रविधिको यो दाना उद्योगको उत्पादन क्षमता प्रतिघण्टा १५ टन छ।
ुपशुपक्षीको दाना र मानिसका लागि आवश्यक खाद्यान्न अन्य प्रदेशबाट आयात गर्नुपर्ने बाध्यता अब छैन, हामीले बाँकेबाट देशभरि नै उत्पादन विस्तार गरिरहेका छौँ,ु अध्यक्ष थापाले भने, ुहाम्रा उत्पादन सहज, सुलभ र गुणस्तरीय रूपमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो।ु अत्याधुनिक पूर्णस्वचालित उद्योग भएकाले डल्फिन ग्रुपको दानाको गुणस्तरमा कुनै पनि कमी कमजोरी नहुने उनको दाबी छ।
डल्फिन समूहले तीन वर्षदेखि कोहलपुरमा उद्योग सञ्चालन गर्दै आएको छ। डल्फिन ग्रुपले सञ्चालन गरेका उद्योगमा ४ सयदेखि ५ सयले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। उद्योग व्यवसायको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्दै गुणस्तरीय उत्पादनमा आफुहरूले जोड दिँदै आएको डल्फिन ग्रुपका प्रबन्ध निर्देशक तीर्थ थापाले उल्लेख गरे।
नेपालगञ्ज औद्योगिक क्षेत्रमा झन्डै करिब तीन दर्जनमात्र उद्योग सञ्चालनमा रहेका बेला कोहलपुरको पिपरी, पार्वतीपुर र जानकी गाउँपालिकाको गनापुर क्षेत्रमा भने औद्योगिक क्षेत्रको तुलनामा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने दोब्बर ठूला उद्योग सञ्चालनमा छन्।
बाँकेमा उद्योग सञ्चालन गरेर पश्चिम नेपालमा उत्पादन तथा बिक्री गर्न ढुवानी कम लाग्ने र यहाँ उद्योगका लागि आवश्यक जग्गा जमिन पनि सहजै पाइने भएकाले ठूला उद्योग थपिँदै गएको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी बताउँछन्।