Monday, February 10Nepal News Portal
Shadow

बैंक तथा वित्तीय संस्थामा समस्या बढ्दै


काठमाडौं, पुस १८ (ससं) । कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण अघिल्लो वर्षको चैतदेखि सबै क्षेत्रहरु प्रभावित भएका छन् । कतिपय क्षेत्रहरु पूर्णरुपमा प्रभावित भए भने कतिपय क्षेत्रहरुमा आंशिक प्रभाव पर्यो । योबीचमा यातायात, उद्योगधन्दा, व्यापार व्यवसायदेखि शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थासम्म, नागरिक उड्डयन, होटल, पर्यटन लगायत सबै सेवाहरु ठप्प भए । तर, कोभिड–१९ को प्रभाव कम हुन नपाउँदै ती ती संस्थाहरु धमाधम खुल्न थाले ।
अहिले सेवा ठप्प गर्ने पहिलेको अवस्था परिवर्तन भएको छ । महामारी लाग्छ भन्दैमा केही पनि नगरी बस्न सकिँदो रहेनछ भन्ने चेतनाको विकाससँगै सुरक्षा सतर्कता अपनाएर दैनिक गतिविधिलाई निरन्तरता दिने क्रम अघि बढेको छ । नेपालमा नभएर विश्वमै यही प्रचलन हो ।

चैत ९ गते सरकारले गरेको कडाइ र चैत ११ गतेदेखि सुरु गरिएको लकडाउनपछि ठप्प रहेको सबैजसो क्षेत्रहरु यतिबेला खुला भइसकेका छन् । लकडाउन खुकुलो गर्ने क्रममा सबैभन्दा कम प्राथमिकता दिइएका सिनेमा हल, विद्यालय, सैलुन, ब्युटी पार्लर जस्ता क्षेत्रहरुको सेवा समेत यतिबेला सुरु भइकेको छ । तर, नेपालकै सबैभन्दा बलियो नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले भने अहिलेसम्म कोभिड–१९ को डरकै कारण आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न डराएर बसिरहेको छ ।

नियामक निकायको सबैभन्दा महत्त्वपूर्ण काम भनेकै नियमन, निरीक्षण र सुपरिवेक्षण हो । नियमनले नीति तथा नियमहरु बनाएर आफू मातहतका संस्थामा लागू गने काम गर्छ । सुपरिवेक्षणले भने नियमअनुसार काम भए नभएको सम्बन्धमा निरीक्षण र अध्ययन गर्ने काम गर्छ । राष्ट्र बैंकले यस्तो सुपरिवेक्षण सम्बन्धित बैंक तथा वित्तीय संस्थामै गएर गर्ने गर्छ ।

तर, यो वर्षको ६ महिना बितिसक्दा पनि राष्ट्र बैंकका कुनै पनि विभागले यस्तो प्रक्रिया सुरु गरेको छैन । हाल बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण हेर्न ४ वटा विभाग क्रियाशील छन् । ‘क’ वर्गको इजाजतप्राप्त वाणिज्य बैंक तथा पूर्वाधार बैंकको सुपरिवेक्षणको जिम्मा बैंक सुपरिवेक्षण विभागले लिँदै आएको छ ।

त्यस्तै, ‘ख’ वर्गको इजाजत प्राप्त गरेका राष्ट्रिय तथा क्षेत्रीय विकास बैंकहरुको सुपरिवेक्षण विकास बैंक सुपरिवेक्षण विभागले हेर्दै आएको छ । यसअन्तर्गत हाल १९ वटा वित्तीय संस्थाहरु छन् । ‘ग’ वर्गको इजाजतप्राप्त २१ वटा वित्त कम्पनीको सुपरिवेक्षण वित्त कम्पनी सुपरिवेक्षण विभागको हो भने हाल अस्तित्वमा रहेका ७८ लघुवित्त वित्तीय संस्थाको सुपरिवेक्षण भने लघुवित्त सुपरिवेक्षण विभागले गर्दै आएको छ । तर, यी ४ वटै विभाग यो वर्ष सुपरिवेक्षणका लागि कुनै संस्थामा गएका छैनन् ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्