काठमाडौं, पुस १८ (ससं) । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा मा खडा हुने सबै अवरोध परास्त गर्ने दाबी गरेका छन्।
मदन भण्डारीले निर्माण गरेको नेकपाको राजमार्गमा आएका तगारालाई परास्त गर्दा आफूहरु नथाक्ने नेता श्रेष्ठले दाबी गरेका छन्।
प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले भने, ‘हामी कसैले थाकोस् भन्ने कसैको इच्छा हो भने त्यो आफै पछि पर्ने छ।
कमरेड मदन भण्डारीले दुःखका साथ आर्जेको यो पार्टीलाई जोगाउने हाम्रो कर्तव्य हो।’ वर्तमान नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले हटाउन नसक्ने पनि उनको दाबी रहेको छ ।
श्रेष्ठले नेकपाका अर्का खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्र्ति कटाक्ष गरेका छन्। उनले अहिले पनि ओलीलाई छोडेर काँग्रेससँग घाँटी जोड्न प्रचण्ड लागि परेको आरोप लगाए।
श्रेष्ठले पुष्पकमल दाहाल हुँदासम्म ठिक हुने र प्रचण्ड हुनेबित्तिकै ओलीको बिरोध गर्ने स्वाभाव प्रचण्डमा रहेको उनको कटाक्ष थियो।