काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (साउन १८ गते)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुल्ला गरेको छ । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ ।
कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारीका लागि र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । स्थानीयमा वितरण हुन नसकेको सेयरसमेत थप गरी सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आईपीओको बिक्री अवधि साउन २२ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा साउन ३२ गतेसम्म बिक्री अवधि लम्बिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ ।