काठमाडौं । प्राधिकरणले बिजुली दिने मिति ग्यारेन्टी नगर्दा कारखानाको पूर्वाधार निर्माण अनिश्चित बनेको छ। कारखाना पूर्वाधार निर्माण सुरु गरेको २४ महिनाभित्र सूर्यताराबाट सिमेन्ट उत्पादन थाल्ने योजना लगानीकर्ताले बनाएका थिए।
सूर्यताराले सिमेन्ट उद्योग स्थापना गर्न ४० बिघा जग्गा खरिद गरिसकेको छ। यस्तै जग्गा तारबार लगाएर घेर्ने काम सकिएको छ। दैनिक करिब ३ हजार टन क्लिंकर र ३ हजार टन (६० हजार बोरा) सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य थियो। उद्योगले सिमेन्ट बेचेर वार्षिक ५ अर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको थियो।
कूल लगानीमध्ये ८० प्रतिशत बैंक ऋण र बाँकी संस्थापकहरूको स्वपुँजी (इक्विटी) स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ। सूर्यतारा कर्णाली प्रदेशको पहिलो सिमेन्ट उद्योग बन्न लागेको हो।
विस्तृत अध्ययन भएर कारखानाको पूर्वाधार तयारपछि उद्योग सञ्चालमा आउने छ। अहिलेसम्म कर्णाली र सुदूरपश्चिम क्षेत्रमा सिमेन्ट उद्योग छैन। दाङबाट सिमेन्ट लैजाँदा खरिदकर्ताले ढुवानी खर्चमात्रै बोराको ९० देखि १ सय २५ रुपैयाँसम्म बढी तिर्नुपरेको छ।
सोही क्षेत्रमा सिमेन्ट उद्योग स्थापना गरेपछि उपभोक्ताले ७०–८० रुपैयाँसम्म सस्तोमै सिमेन्ट किन्न पाउने उद्योगीको भनाइ छ। उद्योगका लागि चाहिने चुनढुंगा खानी सुर्खेत बराहतालमा लिइएको छ।
दाङ सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योग स्थापना सूर्यताराका सञ्चालक मुकुन्द तिमिल्सिनाले गरेका हुन्। विवाद आएपछि उनले ३० प्रतिशत सेयर उद्यमी विनोद चौधरीलाई बेचेर सम्राट सिमेन्टबाट बाहिरिई सूर्यतारा सिमेन्ट खोल्न लागेका हुन्।
सम्राटले २०७४ देखि सिमेन्ट उत्पादन थालेको थियो। कम्पनीले सुरुमा ३ अर्ब ५१ करोड लगानी गरेको थियो। अनिल रुंगटा र मुकुन्दबीचको विवादले उद्योगको बिक्रीमा समेत ठूलो प्रभाव परेको थियो।
मुकुन्दले अम्बे सिमेन्टमा लगानी गरेका थिए। त्यस्तै युनाइटेड मोदी होइड्रोपावर र अटोमोबाइलदेखि मोबाइल कम्पनीसम्म लगानी फैलाएका छन्। भिभो मोबाइलका अध्यक्ष पनि उनी नै हुन्। उनको शुभश्री अग्निमा पनि लगानी छ।
पछिल्ला वर्ष नेपाल कच्चा वस्तु क्लिंकरमा आत्मनिर्भर हुने बाटोमा लागेको छ। अझै केही उद्योग पाइपलाइनमा छन्।