काठमाडौं, पुस १८ (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भनेर ठोकुवा गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीले ठोकुवा गरेका हुन् ।
आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलामा शनिबार प्रधानमन्त्री ओलीले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो रु कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर रु पुनर्स्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन उहाँहरू भन्नुभएको होला, प्रधानमन्त्रीको भनाइ थियो ।
प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले आफूलाई जानकारी नदिइ राष्ट्रपतिकहाँ गएर विशेष अधिवेशन माग गर्नु, संसदमा सरकारले लगेका प्रस्ताव निर्णयार्थ प्रस्तुत नगर्नु लगायत रहेको बताएका छन् । तीन वर्षदेखिका विधेयक संसदीय समितिमा लगेर अड्काएकाले पनि प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा गरिएको बताए ।
कतिपयबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर कुप्रचार गरिएको भन्दै आफूसँग लगभग दुई तिहाई रहेको र पनि निर्वाचन चाहियो भनेकाले पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीको ठोकुवा थियो । उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए ।
प्रतिनिधिसभा विघटन गरेर नयाँ जानादेशका लागि जाने सिफारिस लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व खतरामा परेकाले हो ओलीले भने । प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भएपछिको गठबन्धनबारे विभिन्न सञ्चारमाध्यमले अनावश्यक हल्ला फैलाइएको भन्दै दोष प्रकट गरे ।
प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै ओलीले पुनर्स्थापना हुनै नसक्ने बताए । उनले बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने बताए । उनले मुद्दा लड्नु सबैको अधिकार रहेको र लड्दै गर्ने तर निर्वाचनको तयारी सुरु भइसकेको भनाइ राखे ।