Thursday, January 23Nepal News Portal
Shadow

अर्थमन्त्री महत भन्छन्ः भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आमजनताको चासो र चिन्तालाई मध्यनजर गरेर भन्सारका कर्मचारी सक्रिय हुनुपर्ने बताएका छन् ।

आइतबार (आज) भन्सार व्यवस्थापनसम्बन्धी गोष्ठीमा उनले भने, “सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।”

आयातकर्ता र करदातालाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले ‘बार्गेनिङ’ गर्न नहुनेमा उनले जोड दिए । “मैले धेरै भन्सार नाकाको भ्रमण गरेँ, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ । यो गलत हो, बन्द हुनुपर्छ,” उनले भने, “राम्रो काम गर्ने कर्मचारी साथीहरू पनि हुनुहुन्छ, यी साथीहरूलाई एउटै ‘बास्केट’मा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्नु हुँदैन ।

कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्यांकन गर्नुपर्ने उनले बताए ।

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा। महतले स्पष्ट पारे । वीरगन्ज भन्सारको उदाहरण दिँदै उनले भने, “त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौँ त्यत्तिकै थन्क्याई राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम रु भन्ने कुरा कर्मचारीबाट सुनियो, अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।”

इमानदार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने उनले बताए । “लक्ष्यमा पुग्नैपर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभावी दुःख दिएर काम गर्नुपर्छ भनिएको छैन,” मन्त्री डा. महतले भने, “कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौँ ।”

अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने उनको धारणा छ । “लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौँ, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुन्छ,” उनले भने ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्