काठमाडौं, पुस १९ (ससं) । नेपाली कांग्रेसको स्थगित केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुचारू हुने भएको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने भएको छ ।
यही पुसको ७ गतेदेखि सुरू भएको बैठक १० गते स्थगित गरिएको थियो। देशभरका १६५ वटै संसदीय निर्वाचन क्षेत्रमा एकै दिन प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनको तयारीका लागि केन्द्रीय समिति बैठक स्थगित गरेको थियो।
यसअघि चार दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका थिए।
बैठकमा प्रनिनिधिसभा विघटनविरुद्ध सडकमा ओर्लिनुपर्ने र अदालतको निर्णय सार्वजनिक नभएसम्म सडकमा ओर्लिन नहुने पक्षमा मत जाहेर भएका थिए।
सभापति शेरबहादुर देउवा र उनी पक्षका नेताहरूले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा विचाराधीन भएकोले मुद्दालाई प्रभावित गर्ने गरी आन्दोलनमा जान नहुने मत राखेका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै नेता कृष्णप्रसाद सिटौलापक्षधर नेताहरूले सडक अरूले कब्जा गर्न सक्ने भन्दै तत्काल सडकमा ओर्लिएर प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्नुपर्ने बताएका थिए।