काठमाडौंं, पुस १९ (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषित मध्यावधि चुनाव नरोकिने दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आफ्नो समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गरेका छन् ।
संसद पुनर्स्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर आएको भन्दै उनले भने, ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र ’
उनले अघि भने, संविधान र कानूनले मिल्दैन । विघटित संसद बौरिँदैन । संसद विघटन भयोभयो, नयाँ चुनाव हुन्छहुन्छ ।’
कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिजाउन खोजेको उनले दाबी गरे । त्यस्ता भ्रममा नपर्न आग्रह गर्दै उनले भने, चुनाव वैशाख १७ र २७ गते हुन्छ । यस चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले सक्ने छैन । ‘