काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति बनाउनु पर्ने बताएका छन् ।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले इप्पान र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अध्यक्ष कार्कीले बजेट बनाउँदा अबको दश वर्षमा देशलाई कहाँ पुर्याउने भन्ने हिसाबले नीति लिनुपर्ने बताएका हुन् ।
दश वर्षलाई ऊर्जा दशक र ऊर्जा सङ्कटकाल घोषणा गरेर ३० हजार मेगावाट विधुुत उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने खाँचो छ । सरकारले दश वर्षमा २८ हजार ५ सय मेगावाट विद्युुत उत्पादन गर्ने लक्ष्य लिएको हो ।
१३ हजार ५ सय मेगावाट देशभित्रै खपत गर्ने र १५ हजार मेगावाट विदेश निर्यात गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि ६१ खर्ब रुपैयाँ लगानी आवश्यक रहनेछ । यसमा गम्भीर भएर वातावरण सिर्जना गर्न सबै लाग्नुपर्नेछ ’ अध्यक्ष कार्कीले बताए का छन्।
अब बैङ्क वित्तीय संस्थाले कम्तीमा २० प्रतिशत लगानी गर्न बाध्यात्मक व्यवस्था अनिवार्य गर्नुपर्दछ । त्यसैगरी कतिपय संस्थामा बेकामे बनेर रोकिएका रकम परिचालनको वातावरण पनि बन्नुपर्दछ ।
सामान्य शब्दका कारण भन्सारमा सामानहरू रोकिने अवस्था देखिएको भन्दै नीतिबाटै यस विषयबारे सोच्न आवश्यक रहेको कार्कीले बताए । पीपीए खोलेर जाने नीति बजेटले लिनुपर्ने भन्दै उनले बजेटले तोकेका विषय र सुविधा कार्यान्वयनमा आउनुपर्ने बताए ।
वन र जग्गाको समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष कार्कीले धितोपत्र बोर्डको अध्यक्ष नहुँदा काम गर्न सक्ने व्यक्ति तोक्नुपर्ने बताएका छन् ।
बिजुली खपत बढाउने पूर्वाधार विकासमा बजेट बढाउनुपर्ने बताउँदै उनले दिगो समृद्धिका लागि जलविधुत नै महत्त्वपूर्ण रहेकोले सडक बाटो बजार पुर्याउने लगायतका क्षेत्रलाई महत्वमा राख्न सरकारको ध्यानाकर्षण गराए ।