काठमाडौं । पशुपतिनाथको मन्दिरमा भेटी चोरी गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
सोमबार प्रहरी वृत्त गौशालाको टोलीले पशुपति विकास कोषका कर्मचारीसहित आठ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये तीन जना हाजिरी जमानीमा छाडिएका छन्।
हाल प्रहरी हिरासतमा भेटी संकलनको जिम्मा लिएका कोषका नायब सुब्बा नवराज ढोढारी, नवराज घिमिरे, बाजा बजाउने कर्मचारी अनिल परियार, कुमार परियार र सपटा कपाली छन्।
कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफूलाई भेटी संकलन गर्ने ठाउँमा काम गर्ने जिम्मा लगाएको अनिल परियारले प्रारम्भिक बयानमा बताएका छन्।
यसरी आफूहरूले चोरी नगर्ने भने पनि नवराज ढोढारीले भने बोलाएर चोरी गर्न लगाएको जनाएका हुन्। उनले दुई-तीन महिनादेखि चोरी गर्दै आएको जनाएका हुन्।