काठमाडौं । सरोकारवालाले कृषिलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार कृषि सूचना तथा प्रशिक्षण केन्द्र र खाद्य तथा कृषि सङ्गठन (एफएओ) को संयुक्त आयोजनामा राष्ट्रिय डिजिटल कृषि रणनीति र कार्य योजना सम्बन्धी काठमाडौँमा भएको कार्यक्रममा सरोकारवालाहरूले यस्तो जनाएका हुन् ।
केन्द्रका प्रमुख प्रकाश कुमार सन्जेलले छरिएर रहेका डिजिटल कृषिलाई प्रवर्द्धन गर्न विभिन्न निकायहरूलाई एकीकृत गर्न आवश्यक रहेको बताएका छन्।
छिल्लो समय कृषिमा जनशक्ति अभाव हुँदै गएको अवस्थामा प्रविधिमैत्री कृषि बनाउन सके उत्पादन र उत्पादकत्वमा समेत सुधार गर्न सकिने उनको तर्क छ ।
प्रविधिमैत्री कृषिमा जोड दिने उद्देश्यले सरकारले यसअघिनै माटोको डिजिटल नक्सा तयार पारेको छ । मुलुकभर २५ हजार किसानलाई मोबाइल फोन मार्फत कृषि सूचना प्रदान गर्दै आएको केन्द्रले बताएका छन् ।
आगामी वर्ष करिब १८ लाख कृषक घरधुरीलाई सो प्रणालीमा सूचीकृत गर्ने सरकारी लक्ष्य छ । यसले कृषि डिजिटलाइजेसनमा टेवा पुर्याउने सन्जेलले जनाएका छन्।