काठमाडौं । जिल्लाको दक्षिणी क्षेत्रस्थित अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा पुगेको छ । केन्द्रीय विद्युतीकरण प्रसारण लाइन विस्तारको कामलाई तीव्रता दिइएको उक्त गाउँपालिकाका सबै वडाका घरमा बत्ती बाल्ने योजना छ ।
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणले महाभारत गाउँपालिका मात्र नभई काभ्रेपलाञ्चोकलाई नै पूर्ण विद्युतीकरण गर्न बाँकी रहेका स्थानीय तहमा तीव्रगतिमा विस्तार कार्यमा लाग्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केन्द्रीय प्रसारण लाइन विस्तारअन्तर्गत विद्युतीकरण भइरहेका खानीखोला गाउँपालिकाको केही स्थान, रोशी गाउँपालिकाको केही स्थान र बेथानचोक गाउँपालिकाको केही स्थानमा अपुग पोल, तार तान्नेलगायत काम एक साताभित्रै ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।