काठमाडौँ । आलु, प्याज र स्याउको मूल्य घट्ने भएको छ । सरकारले आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेसँगै यसको मूल्य घट्ने भएको हो ।
आलु, प्याज र स्याउ भण्डारण गर्दा खेर जाने र स्वदेशी उत्पादनलाई भ्याटमा कारोबार गर्न समस्या हुने भएकाले यसको भ्याटमा हुने कारोबार हटाउनुपर्ने व्यवसायीको माग थियो । यो माग सम्बोधन भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
भ्याट बिलमा कारोबार गर्दा मूल्यको भार उपभोक्तालाई परेको थियो । आलु, प्याज र स्याउको भ्याट हटेसँगै यसले उपभोक्तालाई आर्थिक भार कम हुने श्रेष्ठले बताए ।
मङ्गलवार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउमा लाग्ने भ्याट खारेज गरेका हुन् । ती कृषि वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने जनाएका हुन् ।
सरकारले आर्थिक विधेयक २०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । त्यसको असर नेपाली उत्पादनमा परेको भन्दै व्यवसायीले आलु र व्याजको भ्याट हटाउनुपर्ने माग राख्दै आएका थिए ।