काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियपछि आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ। गत हप्तामात्र राष्ट्र बैंकले ७ दिनका लागि ३५ अर्ब तरलता प्रशोचन गरेको थियो।
जेठ १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ७अर्ब निक्षेप संकलन गर्दै यता ५१ खर्ब १७ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन्।
बैंकहरूसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २.९९प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३।२० प्रतिशतमा खुम्चिएको छ।
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ।