Tuesday, June 25Nepal News Portal
Shadow

बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा मात्रै बढाए कर्जा लगानी


काठमाडौं । अर्थतन्त्रको सुस्तताको असरलाई चिर्दै बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी लक्ष्यभन्दा बढी पुर्याएका छन्।

निजी क्षेत्रतर्फ जाने कर्जा उल्लेखित रुपमा बढ्न नसकिरहेको समयमा प्राथमिकता प्राप्त क्षेत्रमा भने बैंक तथा वित्त संस्थाहरुले कर्जा लगानी बढाएका हुन्। २०८० फागुनसम्ममा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १३.३ प्रतिशत, ऊर्जा क्षेत्रमा ७.५ प्रतिशत र लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा ९.५ प्रतिशत कर्जा लगानी गरेको राष्ट्र बैंकले बताएका छ।

कृषि क्षेत्रमा वाणिज्य बैंकहरुले फागुनसम्ममा ५ खर्ब ७६ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ३ खर्ब २८ अर्ब ५ करोड रुपैयाँ र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ४ खर्ब ११ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको आर्थिक सर्वेक्षण २०८०८१ मा उल्लेख छ। २०८१ असारसम्ममा वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, ६।५ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु, घरेलु, साना एवं मझौला उद्यमको क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ।

चालु आवको फागुनसम्ममा विकास बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा १ खर्ब २२ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। जुन कुल कर्जाको २६ प्रतिशत हो।

विकास बैंकले २०८१ असार मसान्तसम्म कुल कर्जा लगानीको १६ प्रतिशत कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ। जसअनुसार प्राथमिकता प्राप्त क्षेत्रमा कृषि, लघु, घरेलु तथा साना उद्यम तथा व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रलाई राखिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले यी क्षेत्रमा तोकिएको व्यवस्थाअनुरुप अनिवार्य कर्जा लगानी गर्नुपर्ने प्रावधान छ। यदि तोकिएको सीमाभन्दा कम कर्जा लगानी भएमा नियामकीय व्यवस्थाअनुसार राष्ट्र बैंकले ती बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्छ। सोही व्यवस्थामा रहेर अहिले बैंकहरुले कुल कर्जा लगानीको २६ प्रतिशत कर्जा लगानी प्राथमिकता प्राप्त क्षेत्रमा गरेको तथ्यांकमा देखिन्छ।

चालु आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ६१ खर्ब ४५ अर्ब ८८ करोड पुग्दा कर्जा प्रवाह ४९ खर्ब ९६ अर्ब ५३ करोड रुपैयाँ मात्रै भएको छ। असार मसान्तदेखि फागुनसम्ममा निक्षेप ७।६ प्रतिशतले बढ्दा कर्जा प्रवाह ४।२ प्रतिशतले बढेको छ। चालु आवको मौद्रिक नीतिले २०८१ असार मसान्तसम्ममा निजी क्षेत्रमा जाने कर्जा ११।६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएकोमा नौ महिनासम्ममा निकै न्यूनमात्रै वृद्धि भएको यस तथ्यांकले देखाउँछ।

पछिल्लो सयम अर्थतन्त्रको सुस्तताका कारण बजारमा माग सिर्जना नभएको भन्दै निजी क्षेत्रले कर्जा माग गरिरहेको छैन। यस्तो अवस्थामा बैंकहरुले लगानीका लागि प्राथमिकताप्राप्त क्षेत्र रोजेका हुन्।

जानकारका अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानीका लागि त्यस्ता क्षेत्रमा अन्य क्षेत्रमा जाने कर्जाको भन्दा कम ‘रिस्क वेट’ भएकाले पनि बैंकहरुले यसतर्फ आकर्षित भएका हुन्। यसबाहेक अन्य नीतिगत सहजीकरणका कारण पनि बैंकहरुले यस क्षेत्रमा कर्जा लगानी गरिरहेको पाइन्छ।

समग्रमा उनीहरुले प्राथमिकता प्राप्त क्षेत्रमा विगतदेखि नै कर्जा लगानीलाई जोड दिँदै आइरहेका छन्। कतिपयले नवीकरणीय ऊर्जातर्फ लगानी बढाउँदा कतिपयले कृषि तथा पर्यटनजस्ता क्षेत्रमा कर्जा लगानी बढाएका छन्

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्