काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबार र संसद् भवनमा सांसद र नागरिकले लगाउने पोशाकमा समानता नरहेको बताएकी छन् ।
आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले समानताका लागि सरकारको ध्यानाकर्षण गरेकी हुन् ।
न्यौपानेले सबैका लागि समान व्यवस्थाका लागि सभामुख देवराज घिमिरेसँग रुलिङको मागसमेत गरेकी छन् ।
दूरदराजका नागरिकलाई काठमाडौं आउनै गाह्रो हुने र काठमाडौं आएको बेला संसद् भवन हेर्न खोज्दा पोशाकका कारणले समेत समस्या हुने गरेको उनले बताए ।
पोशाककै कारण संसद् भवनमा पुगेर पनि दर्शकदीर्घामा जानबाट रोकिने गरेको उनले जनाइन् ।
किन दर्शकदीर्घामा जानबाट रोकिएको भनेर आफूले प्रश्न गर्दा ‘खुट्टामा चप्पल लगाएका छन् त्यसकारण माथि जान पाउँदैनन्’ भनिएको उनले जनाइन् ।
‘
आफूले संसद्मा पुरुष माननीयहरूलाई हेरेको र उनीहरूले चप्पल लगाएको पाएको सांसद न्यौपानेलेजनाइन् । संसद्मा मर्यादित ड्रेस लगाएर आउने कति छौं भनेर पनि आफूले नियालेको उनले बताइन् ।
आफूले स्कुल पढ्ने बेलामा फ्रक लगाएको स्मरण गर्दै उनले प्रश्न गरिन्, ‘यो संसद्मा कोही फ्रक लगाएर आउनुभएको छ, कोही टि सर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही दम्पर लगाएर आउनुभएको छ । कोही गरारा भन्छ, कोही सरारा भन्छ । हामीलाई सबै छुट अनि जनतालाई चाहिँ त्यसमा बन्देज’
‘हामी माननीयले जस्तो लगाएर यहाँ आए पनि भयो । नौरङ्गी फेसन लगाएर आए पनि हुन्छ, हामीले केही गर्न नपर्ने’ उनी थप्छिन्, ‘जनताहरू हाफपाइन्ट लगाएर सिंहदरबारमा प्रवेश नपाउने ‘चप्पल लगाएर संसद्को दर्शकदीर्घामा जान नपाउने किन ’
यो अत्यन्तै अप्ठा्यारो विषय भएको उल्लेख गर्दै उनले सभामुखसँग रुलिङको माग गरेकी छन् । सांसदहरू सबै ड्रेस लगाएर हिँड्न पाउने भएपछि जनताले हाफपाइन्ट लगाएर सिंहदरबार र संसद् भवनमा प्रवेश नपाउनुको कारण सरकारले दिनुपर्ने उनको माग छ ।