Sunday, February 16Nepal News Portal
Shadow

एनसीएचएलले गर्‍यो नेप्सलाई प्राप्ति


काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी एकीकृत कारोबार सुरुवातको घोषणा गरेको छ । नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालक गाभ्ने÷गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो ।

उक्त एकीकृत कारोबार घोषणाको कार्यक्रममा आदरणीय महाप्रसाद अधिकारी लगायतको सहभागिता थियो । यही वर्षको वैशाख १३ गते दुवै संस्थाहरूले आ–आफ्नो विशेष साधारण सभाबाट स्वीकृति प्राप्त गरेका थिए । आवश्यक सम्पूर्ण कानुनी र प्रक्रियागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृतिपछि उक्त प्राप्ति सम्बन्धीको कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो ।

दुवै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथा विस्तार गर्ने उद्देश्य सहित आ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका हुन् । नेप्सले विगत ११ वर्ष देखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्ष देखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ । प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन तथा अन्तर आबद्धतालाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

प्राप्ति पछि नेप्सले कार्डको पूर्वाधार अन्तर्गत दिने गरेको कार्ड तथा यस सम्बन्धी सम्पूर्ण सेवाहरूलाई निरन्तरता दिने जनाएको छ । प्राप्ति पछि एकीकृत चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ तथा कुल कोष १ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ ।

यसले पूर्वाधार विस्तार गर्न, जोखिमहरू न्यूनीकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीहरूलाई सुदृढ गर्न, नवीनतम अनुसन्धानका कार्यहरूमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्