Thursday, March 13Nepal News Portal
Shadow

धान र गेडागुडी आयातमा बढाइएको कर फिर्ता लिन माग


काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत धान, दालजन्य गेडागुडी आयातमा बढाएको करले स्वदेशी उद्योग बन्द हुने नेपाल चामल, तेल, दाल उद्योग संघले बताएको छ।

सरकारले आगामी आवको बजेटमा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्न प्रशोधन गरी बिक्री वितरण गर्ने चामल, दाललगायत खाद्य उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा बढाएको अग्रिम आयकर फिर्ता लिन संघले माग गरेको छ।

संघले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी आवको बजेटका समग्र पक्ष स्वागतयोग्य देखिए पनि नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्न प्रशोधन गरी बिक्री वितरण गर्ने चामल, दाल उद्योगलगायतका उद्योगको कच्चा पदार्थमा अग्रिम आयकर लगाइने निर्णय फिर्ता लिन सरकारलाई ध्यानाकर्षण गराएको हो।

पत्रकार सम्मेलनमा संघ अध्यक्ष कुमोद दुगडले भने, ‘स्वदेशी दाल तथा चामल उद्योगले क्रमशः १० प्रतिशत र २.५० प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने हुँदा स्वदेशी उद्योग बन्द हुने निश्चित छ। यसले देशको औद्योगिक क्षेत्रमा दीर्घकालीन असर पर्नेछ। अतः सम्पूर्ण चामल दाल उद्योगमा घोषणा गरिएको अग्रिम आयकर खारेज हुनुपर्छ।’

आगामी आवको बजेटले आयातीत धानमा २.५ प्रतिशत, दाल र गेडागुडीमा १० प्रतिशत अग्रिम आयकर लगाएको छ। उद्योगमा कच्चा पदार्थ प्रयोजनका लागि आयात हुने उल्लिखित वस्तुमा अग्रिम कर लगाइँदा स्वदेशी उद्योग बन्द हुने संघको दाबी छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्