काठमाडौं, पुस ३४ (ससं) । साताको अन्तिम दिन शुक्रबार (आज) पनि सुनचाँदीको भाउ ओरालो लागेको छ। बिहीबार एकै दिन १३ सय रूपैयाँले घटेको सुनको भाउ आज फेरि १०० रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रूपैयाँ कायम गरेको छ भने आज तेजाबी सुनको मूल्य ९४ हजार ८०० रूपैयाँ तोकिएको छ।
यसअघि सोमबारदेखि बुधबारसम्म लगातार तीन दिनसम्म सुनको भाउ उकालो लागेको थियो। त्यसयता घट्न थालेको मूल्य दुई दिनमै एक हजार ४०० रूपैयाँले घटेको हो।
सुनको मूल्य घटे पनि आज चाँदीको भाउ भने स्थिर कायम छ। चाँदीको प्रतितोला मूल्य एक हजार ३३० रूपैयाँ तोकिएको छ।